सेवाग्राहीमाथि दुर्व्यवहारको भिडियो प्रकरण: यातायात कार्यालय बाराका प्रमुखमाथि अनुसन्धान, अहिलेसम्म जाहेरी परेन

समाचार

बारा ,२३ असार । सामाजिक सञ्जाल तथा प्रहार डेली अनलाइनमा यातायात व्यवस्था कार्यालय बारा, कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यको कार्यकक्षभित्र एक सेवाग्राहीमाथि दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार कार्यालय प्रमुख चिन्तन आचार्यलाई मिति २०८३ असार २२ गते सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भिडियोमा देखिएका सेवाग्राही बारा कलैया उपमहानगरपालिका–२३ निवासी अरुण कुश्वाहा रहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि कुश्वाहालाई पनि प्रहरी कार्यालयमा बोलाई घटनासम्बन्धी जाहेरी दिन जानकारी गराइएको थियो।

डीएसपी घलेका अनुसार अरुण कुश्वाहाले असार २३ गते बिहान १० बजे जाहेरी लिएर आउने जानकारी दिएका थिए। तर, हालसम्म उनी जाहेरी लिएर उपस्थित नभएको र चिन्तन आचार्यविरुद्ध कुनै पनि जाहेरी दर्ता नभएको प्रहरीले जनाएको छ।

जाहेरी प्राप्त नभएकाले कार्यालय प्रमुख आचार्यलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा माथवर व्यक्तिको जिम्मा लगाएर पठाइएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *