सडक विस्तारको मलबाले नाला जाम, वर्षापछि वीरगन्जका मुख्य चोक जलमग्न — पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन

समाचार

वीरगन्ज,२६ असार  । वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तारका क्रममा नालामा थुप्रिएको मलबाका कारण शुक्रबार राति परेको वर्षापछि सहरका विभिन्न मुख्य चोक जलमग्न भएका छन्।

नालाको निकास अवरुद्ध हुँदा मुडली, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्र डुबानमा परेका हुन्।

डुबानका कारण सर्वसाधारणको आवतजावत प्रभावित भएपछि महानगरपालिकाले शनिबार बिहानैदेखि पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन गरेको छ।

सरफुदिन मियाको नेतृत्वमा खटिएको टोलीले नाला सफाइ तथा अवरुद्ध निकास खुलाउने कामलाई तीव्र बनाएको छ।
महानगरपालिकाका अनुसार तीन वटा एक्साभेटर, आधा दर्जन ट्र्याक्टर तथा एक दर्जनभन्दा बढी सफाइकर्मी परिचालन गरी नालामा थुप्रिएको ढुंगा, इँटा, माटो र अन्य मलबा हटाउने कार्य भइरहेको छ।

एक्सन टिमका संयोजक सरफुदिन मियाले सडक विस्तारका क्रममा घर भत्काउँदा निस्किएको मलबा समयमै व्यवस्थापन हुन नसक्दा अधिकांश नाला जाम भएको बताए। उनका अनुसार यही कारण रातिको वर्षाको पानी सहज रूपमा बग्न नसकी मुख्य सडक र चोकहरू डुबानमा परेका हुन्।

यतिबेला सडक विस्तारसँगै सडकमा छरिएका भग्नावशेष, हिलो तथा लथालिङ्ग अवस्थामा रहेका बिजुली र इन्टरनेटका तारले वीरगन्जको जनजीवन थप प्रभावित बनेको छ। स्थानीयवासी र यात्रुहरूले आवतजावतमा कठिनाइ भोगिरहेका छन्।

महानगरपालिकाले भने नाला सफाइ र पानी निकासको कामलाई निरन्तरता दिँदै सकेसम्म छिटो सहरलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *