वीरगन्ज,२६ असार । वीरगन्जको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री गहवामाई मन्दिरको ‘माई विशाल रथयात्रा’ लाई भव्य, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूले तयारीलाई तीव्र बनाएका छन्।
आगामी असार ३२ गते आयोजना हुने रथयात्राको व्यवस्थापनलाई प्रभावकारी बनाउन वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा महानगरको सभाहलमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको हो।
बैठकले रथयात्रामा लाखौँ श्रद्धालुको सहभागिता हुने अनुमान गर्दै सुरक्षा, ट्राफिक, सरसफाइ, खानेपानी, विद्युत, दूरसञ्चार र धार्मिक मर्यादा कायम राख्ने विषयलाई प्राथमिकतामा राखी ६ वटा प्रमुख क्षेत्रमा जिम्मेवारी बाँडफाँड गरेको छ।
बैठकअनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नगर प्रहरी संयुक्त रूपमा परिचालन गरिनेछ। रथयात्रा व्यवस्थापन समितिसँगको समन्वयमा यात्रा मार्गभर विशेष सुरक्षा घेरा, ट्राफिक व्यवस्थापन तथा भीड नियन्त्रण गरिनेछ।
यात्रा अवधिभर मार्गलाई सफा राख्न वीरगन्ज महानगरपालिकाले सरसफाइ टोली, उपकरण तथा आवश्यक स्रोत–साधन परिचालन गर्नेछ। निजी क्षेत्र, आयोजक समिति र सामाजिक संघसंस्थाले पनि फोहोर व्यवस्थापनमा सहकार्य गर्ने निर्णय भएको छ।
श्रद्धालुहरूको सुविधालाई ध्यानमा राख्दै यात्रा मार्गका विभिन्न स्थानमा शुद्ध खानेपानी वितरण केन्द्र स्थापना गरिनेछ। यसका लागि खानेपानी संस्थान, निजी क्षेत्र तथा विभिन्न संस्थाहरूबीच समन्वय गरिनेछ।
त्यसैगरी, नेपाल विद्युत प्राधिकरणलाई रथयात्राका दिन निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न तथा सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्ने जिम्मेवारी दिइएको छ। भीडका कारण सञ्चार सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले नेपाल टेलिकम लगायत दूरसञ्चार सेवा प्रदायकहरूलाई मोबाइल नेटवर्क सुदृढ बनाउन पनि निर्देशन दिइएको छ।
धार्मिक मर्यादा, पवित्रता र स्वच्छता कायम राख्ने जिम्मेवारी भने आयोजक समितिले आफैंले सम्हाल्ने निर्णय गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाई रथयात्रा वीरगन्ज मात्र नभई सम्पूर्ण मधेश प्रदेशकै गौरवको सांस्कृतिक तथा धार्मिक उत्सव भएकाले यसको सफल आयोजनाका लागि महानगरपालिकाले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायलाई तोकिएको जिम्मेवारी समयमै र प्रभावकारी रूपमा पूरा गर्न निर्देशन दिनुभयो।
आयोजक समितिले पनि रथयात्रालाई शान्तिपूर्ण, मर्यादित र ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण वीरगन्जबासी, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई सक्रिय सहयोग र सहभागिताका लागि हार्दिक अपिल गरेको छ।
