वीरगञ्ज, २९ असार। नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी तथा डुबानजन्य विपद्को प्रभावकारी सामना गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त विपद् व्यवस्थापन कृत्रिम अभ्यास (Simulation Exercise) सम्पन्न गरेका छन्।
सोमबार पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ स्थित छटघाट तथा भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला, सिसुवा ग्राम पञ्चायत–५ अन्तर्गत तिलावे खोलामा आयोजित अभ्यासमा दुवै देशका सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो।
अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर के.सी. तथा भारतीय एसएसबी ४७ बटालियन, जी कम्पनी सिसुवाका सहायक कमाण्डेन्ट संगम सिंह रावत को नेतृत्वमा संयुक्त टोली परिचालन गरिएको थियो।
कार्यक्रमका क्रममा बाढी तथा डुबानमा फसेका सर्वसाधारणको सुरक्षित उद्धार, विपद्का बेला आवश्यक समन्वय, उद्धार उपकरणको प्रयोग तथा आपत्कालीन प्रतिकार्य सम्बन्धी व्यावहारिक अभ्यास प्रदर्शन गरिएको थियो। दुवै सुरक्षा निकायका विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिले सीमापार समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित संयुक्त प्रदर्शन गरेका थिए।
अभ्यासमा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, सीमावर्ती क्षेत्रका बासिन्दा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला का अनुसार सीमावर्ती क्षेत्रमा हुने प्राकृतिक विपद्बाट जनधनको क्षति न्यूनीकरण, उद्धार क्षमताको अभिवृद्धि तथा नेपाल–भारत सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउन यस्ता संयुक्त अभ्यास प्रत्येक वर्ष सञ्चालन हुँदै आएका छन्। आगामी दिनमा पनि भारतीय समकक्षी एसएसबीसँगको सहकार्यलाई अझ प्रभावकारी र निरन्तर बनाइने जनाइएको छ।
