अविरल वर्षापछि काठमाडौं–हेटौंडा जोड्ने दुई प्रमुख सडकमा यातायात बन्द

समाचार

मकवानपुर, २९ असार। अविरल वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि काठमाडौं–हेटौंडा जोड्ने दुई प्रमुख सडकखण्डमा यातायात सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडक र हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडक मा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडक अन्तर्गत चौघडा क्षेत्रमा २०८३ असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडक अन्तर्गत चौकीटोल, हेटौंडा बाट असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ।

प्रशासनले यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई जोखिमपूर्ण सडकमा यात्रा नगर्न, सुरक्षित स्थानमा रहन तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न आग्रह गरेको छ।

लगातारको वर्षासँगै मकवानपुरका विभिन्न सडकमा पहिरो खस्ने, सडक भासिने तथा नदी–खोलामा पानीको बहाव बढ्ने जोखिम रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *