मापसे चालकको लापरबाही : रौतहटमा ट्रकले दुई बसलाई ठक्कर दिँदा ८ जना घाइते, चालक पक्राउ

समाचार

रौतहट, २ साउन। मादक पदार्थ सेवन (मापसे) गरेर ट्रक चलाएका चालकको लापरबाहीका कारण रौतहटमा दुईवटा यात्रुवाहक बस दुर्घटनामा परेका छन्। दुर्घटनामा आठ जना घाइते भएका छन् भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करको तीव्रताका कारण एउटा बस सडकमै पल्टिएको थियो।

दुर्घटनामा ट्रकका सहचालक लालबहादुर तामाङ, बस चालक विकास पौडेल तथा बसमा सवार प्रदीप खड्का, निर्मला देवी गुप्ता, रितु वर्ण कार्की, मेघराज कार्की, सफल मगर र दिलमाया कार्की घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सफल मगरलाई प्रारम्भिक उपचारका लागि चपुरस्थित सिमन्त हाईवे अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनी आफैं अस्पतालबाट हिँडेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले मापसे गरेर सवारी चलाउँदा हुने गम्भीर दुर्घटनाप्रति सबै चालकलाई सचेत रहन आग्रह गर्दै दुर्घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *