बिरगंज ,५ माघ ।
वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, आदर्शनगरले मुर्ली चौकदेखि पूर्वतर्फ जाने सडक स्तरोन्नतिको लागि अवैध संरचना हटाउन सूचना जारी गरेको छ।
मिति २०८१ माघ ३ गते प्रकाशित सूचनाअनुसार, पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १२ र १३ (पहिले वडा नं. १५ र १६) को साँधमा रहेको बाइपास क्षेत्र अन्तर्गत नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुर्ली चौकसम्मको सडक विस्तार गरिनेछ। यस क्रममा, सडकको मध्य भागबाट दायाँ र बायाँ ५/५ मिटर गरी जम्मा १० मिटर चौडाइमा पर्ने अवैध संरचना हटाउन १५ दिनको समयसीमा दिइएको छ।

सडक विस्तार अन्तर्गत नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको सडक निर्माण पूरा भइसकेको छ। तर, सबाह अन्सारीको घरदेखि मुर्ली चौकसम्मको सडक विस्तार बाँकी रहेको हुँदा आवतजावत र विपद् व्यवस्थापन (एम्बुलेन्स र दमकल) मा समस्या उत्पन्न भएको जनाइएको छ।
महानगरपालिकाले यस क्षेत्रभित्र नक्सा पास नगराई निर्माण गरिएका संरचनाहरू अवैध ठहर गर्दै तोकिएको समयसीमा भित्र खाली गर्न सम्पूर्ण सरोकारवालालाई जानकारी गराएको छ।
यदि तोकिएको अवधिभित्र संरचना खाली नगरिएमा, कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत वीरगंज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
