काठमाडौं, ५ फागुन
खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा मकवानपुरमा अवस्थित सिस्नेरी खानेपानी आयोजनाको मुहान निरीक्षण तथा स्थलगत अवलोकन गरिएको छ। काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई दीर्घकालीन रूपमा भरपर्दो बनाउने उद्देश्यले मन्त्री यादवले आयोजनास्थलको भ्रमण गरेका हुन्।
मन्त्री यादवले वर्षायाममा मेलम्ची खानेपानी आयोजनामा कुनै अवरोध आए पनि उपत्यकावासीले खानेपानी अभाव झेल्न नपरोस् भन्ने लक्ष्यसहित सिस्नेरी आयोजना द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
हाल आयोजनाको बाँधको विस्तृत डिजाइन प्रक्रिया अघि बढिरहेको छ, जसका लागि प्रारम्भिक चासो पत्र (EOI) समेत प्रकाशित भइसकेको छ। सरकारका अनुसार आयोजनाको निर्माण कार्य आगामी ५ देखि ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकावासीलाई २४ घण्टा, १२ महिना अबाधित रूपमा स्वच्छ खानेपानी आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले सम्पूर्ण आवश्यक प्रक्रियालाई तीव्रता दिने बताएका छन्।
मन्त्री यादवले संघीय, प्रदेश तथा स्थानीय सरकारको पूर्ण सहयोग आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट प्रविधि, वित्तीय सहयोग र अनुभव प्राप्त गर्नुपर्ने आवश्यकता औंल्याए। उनले तीनै तहका सरकार र विकास साझेदारहरूलाई आयोजनामा सहयोगका लागि अपील गर्दै यो महत्वाकांक्षी परियोजना समयमै सम्पन्न गर्न संयुक्त प्रयास अपरिहार्य रहेको बताएका छन्।
