रसीद आलम
बारा, जेष्ठ १६ । विशेष सूचनाको आधारमा प्रहरीले लागू औषध तस्करीमा संलग्न दुई जना भारतीय नागरिकलाई कारसहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान ११ः४० बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडि चेकप्वाइन्टमा भारतीय नम्बर प्लेटको कार (BR 01 BU 3485) लाई जाँच गर्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजय राज पण्डितले दिएको जानकारीअनुसार प्रहरीले कारको पछाडिको सिटमुनि, दायाँ–बायाँ ढोकामा फल्स बटम बनाई लुकाइ राखिएको २,१६० पत्ता (२१,६०० ट्याबलेट) ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र कारको अगाडिको बायाँ ढोका तथा पछाडिको ढोकाको पल्लाभित्र लुकाइएको ओनेरेक्स १०० एमएल लेखिएको ७६ बोतल लागू औषध बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्यको वैशाली जिल्ला, ग्राम हुसेनाराके वडा नं. १२ का २७ वर्षीय धिरज कुमार सिंह (कार चालक) र भारतकै मोतिहारी जिल्ला, ग्राम कटगेनवा वडा नं. २ का १८ वर्षीय चन्दन कुमार पटेल रहेका छन्।
प्रहरीले लागू औषधसहित कार र पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।
यसअघि पनि भारतीय नम्बर प्लेटका सवारी साधनबाट नेपाल भित्र लागुऔषध ओसारपसार हुने घटना बारामा पटक–पटक घट्दै आएकोमा प्रहरीले यसलाई रोक्न नियमित रूपमा विशेष चेकिङ अभियान चलाइरहेको बताइएको छ।
