मानव बेचबिखन आरोपमा चितवनका खड्का पक्राउ, अनुसन्धानका लागि ५ दिन म्याद थप

समाचार

पर्सा, ६ असार । मानव बेचबिखन र ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा चितवनका एकजना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार चितवन माडी नगरपालिका–८ खर्कटा बस्ने ४१ वर्षीय दीपक खड्कालाई मानव बेचबिखन र ओसारपसार अभियोगमा पक्राउ गरिएको हो ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार २०८२ असार ४ गते बिहान ११:४५ बजे पर्सा जिल्ला, ठोरी गाउँपालिका–२ ठोरी बजारस्थित नामथर वतन परिवर्तन गरिएका चार व्यक्तिहरूलाई ‘फ्री टिकट’ र ‘फ्री भिसा’ मा दुबई र ओमान पठाइदिने भन्दै भारततर्फ लाँदै गरेको सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले तत्काल कारबाही गरी पीडितहरूलाई सकुशल उद्धार गरेको र अभियुक्त दीपक खड्कालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका खड्काविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको डिएसपी लम्सालले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *