विद्युत् आपूर्तिको समस्या समाधान गर्न जनमत पार्टीद्वारा नेपाल विद्युत् प्राधिकरण वीरगञ्जलाई ध्यानाकर्षणपत्र बुझाइयो

समाचार

वीरगञ्ज, ६ असार — पर्सा जिल्लामा पछिल्ला दिनहरूमा बढ्दो तापक्रमका बीच लोडसेडिङ, पावर कट र भोल्टेजसम्बन्धी समस्याले जनजीवन प्रभावित बनेको भन्दै जनमत पार्टी पर्साले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

शुक्रवार बुझाइएको ध्यानाकर्षणपत्रमा जनमत पार्टी पर्साले जिल्लाभरि भइरहेका अनियमित विद्युत् कटौतीका कारण सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको, उद्योगधन्दा प्रभावित भएको र विशेष गरी सिँचाइका लागि आवश्यक पर्ने कृषि क्षेत्रमा समेत गम्भीर असर परेको उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “गर्मीको बढ्दो तापक्रमका कारण जनजीवन कष्टकर बनेका बेला अत्यधिक पावर कट र लो भोल्टेजका समस्या थप पीडादायी भएका छन् । खेतिपाती, उद्योगधन्दा र घरायसी कामकाजसमेत प्रभावित हुँदा नागरिकहरू मारमा परेका छन् ।”

जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमार्फत समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई गम्भीरतापूर्वक जिम्मेवार बन्न र तत्काल आवश्यक कदम चाल्न अनुरोध गरिएको छ । समस्या समाधान नभए आफ्नो पार्टी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गरी जनतालाई सहज र भरपर्दो सेवा उपलब्ध गराउन जनमत पार्टी पर्साले अनुरोध गरेको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *