मधेस प्रदेशमा तस्करी नियन्त्रण अभियान तीव्र: डिआईजी ढकालको नेतृत्वमा डिएसपी भट्टद्वारा लाखौंको अवैध सामान बरामद

समाचार

रसीद आलम

बारा, ८ असार । सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालको तस्करी नियन्त्रण अभियानले मधेसका विभिन्न जिल्लाहरूमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । विशेष गरी बारा र पर्सा तस्करीको हबका रूपमा चिनिएकाले डिआईजी ढकालको निर्देशनमा स्थानीय सशस्त्र सुरक्षाकर्मीहरू तस्करीको नेटवर्क ध्वस्त पार्न सक्रिय रहेका छन् ।

यसै क्रममा सशस्त्र प्रहरी बल बाराका सुरक्षा बेस जितपुरका डिएसपी प्रकाश चन्द्र भट्टले लाखौं रुपैयाँ बराबरको अवैध सामान बरामद गरी तस्करी नियन्त्रण अभियानलाई नयाँ गति दिएका छन् । सशस्त्र प्रहरीले गरेको चेकजाँचका क्रममा जितपुरसिमरा–२, पथलैया हुँदै काठमाडौं जाने सुमो गाडीबाट ११४ थान एयरबड्स (मूल्य रु. ५,७०,०००), ३ कार्टुन ह्यापिडेन्ट, ८० प्याकेट खजुर, ५० किलो मिल्क पाउडर, १४० प्याकेट कफी, ९६ प्याकेट एरियल सर्फ र ९ बोरा चिनी गरी कुल ७ लाख ४४ हजार २२५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ ।

बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि बिरगंज भन्सार कार्यालय पठाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल जितपुर बेसले जनाएको छ ।

जितपुर बेसका डिएसपी भट्टले ६ महिनाको कार्यकालमा करिब १ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर तस्करी नियन्त्रणमा उदाहरणीय कार्यसम्पादन गर्दै ईतिहास कायम गरेका छन् । सशस्त्र प्रहरी मुख्यालयको नियमित सरुवा–बढुवा प्रक्रियाअनुसार डिएसपी भट्टको सरुवा भएको जानकारीसमेत प्राप्त भएको छ ।

मधेसी सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि डिआईजी ढकालको सक्रिय नेतृत्व र मातहत सुरक्षाकर्मीहरूको अथक प्रयासले अवैध कारोवारलाई न्यून पार्दै सर्वसाधारणको सुरक्षासहित राज्यको राजस्व बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । आगामी दिनहरूमा पनि सशस्त्र प्रहरी बलद्वारा तस्करी नियन्त्रणलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *