वीरगञ्ज, १४ असार।
पर्साको वीरगञ्ज महानगरपालिका स्थित रामगढ्वामा शुक्रबार राति ११:३० बजे भएको सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु भएको छ।
मधेस प्रदेश ०३-००१-ज ०६८१ नम्बरको ईभी गाडी र प्रदेश २-०३-१४ प ६२७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको पर्सा प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार वीरगञ्ज–१६, नगवा बस्ने २१ वर्षीय निरन्जन राम र २० वर्षीय बिक्रम साह तुराहा गम्भीर घाइते भएका थिए। दुबैलाई उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि उपचारको क्रममा दुबैको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि ईभी चालक सञ्जय बैठा र उक्त गाडीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
शव आफन्तलाई कानुनी प्रक्रिया पूरा गरी बुझाइएको छ।
