वीरगंज, ९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साबाट असार महिनाको “BEST POLICE OF THE MONTH” घोषित भएका छन् प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादव। उहाँलाई असार महिनाभरि देखाएको उत्कृष्ट कार्यक्षमता, ईमानदारी, कर्तव्यनिष्ठा र पेशागत लगनशीलताका आधारमा छनोट गरिएको हो।
प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा सम्पन्न छनोट प्रक्रियाअनुसार यादवले सूचना संकलन शाखामा कार्यरत रहँदै विभिन्न गम्भीर अपराधहरूमा सफल अनुसन्धान गरी उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। चोरी नियन्त्रण, हराएका मोबाइलहरूको खोजी, साइबर अपराध अनुसन्धानदेखि कर्तव्यज्यान तथा लागुऔषध मुद्दामा संलग्न प्रतिवादीलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउने कार्यमा उहाँको योगदान उच्च छ।
उहाँले प्रमाणमुखी अनुसन्धान र संगठनप्रतिको निष्ठा प्रस्तुत गर्दै आम नागरिकमा प्रहरी संगठनप्रतिको विश्वास र साख उच्च बनाउन सहयोग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साले २०८१ सालको उत्कृष्ट प्रहरी छनोट कार्यविधि अनुसार २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरीका रूपमा यादवलाई सम्मानित गरेको हो।
उहाँलाई असार महिनाको “उत्कृष्ट प्रहरी” घोषित गरिएसँगै सम्पूर्ण प्रहरी संगठन तथा समुदायबाट हार्दिक बधाई व्यक्त गरिएको छ।
