बारा सशस्त्रका एसपी केसीको तस्करी नियन्त्रण अभियान तीव्र : ८ लाख बराबरको रेडिमेड कपडा र ई-रिक्सा बरामद

समाचार

रसीद आलम

बारा, ११ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराको नेतृत्वमा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाइएको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको निर्देशनमा संचालन गरिएको अभियान अन्तर्गत आठ लाख रुपैयाँ बराबरको अवैध रेडिमेड कपडा र ईलेक्ट्रिक रिक्सा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।

साउन ११ गते राति करिब १:३५ बजे, बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–३ स्थित गाउँपालिका कार्यालयको पछाडिको भागबाट सशस्त्र प्रहरी बल नेपाल, बीओपी बरैनियाबाट खटिएको टोलीले उक्त तस्करी नियन्त्रण गरेको हो। सशस्त्र प्रहरी निरीक्षक हरि प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले भारतबाट अबैध रूपमा नेपाल भित्र्याइँदै गरेको प्र.२–०३–००१ स. ४२६९ नं.को १ वटा ईलेक्ट्रिक रिक्सामा लोड गरिएको अनुमानित मूल्य ६ लाख १० हजार रुपैयाँ बराबरको ८ पोका विभिन्न प्रकारका रेडिमेड कपडा र ई-रिक्सासहित कुल ८ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो।

बरामद गरिएको अवैध सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

तस्करी नियन्त्रण तथा सीमा सुरक्षा अभियानलाई सशस्त्र प्रहरीले अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *