पर्सा, २४ भदौ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र जारी गरिएको कर्फ्यू आदेश आज पनि थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी गरेको आदेशअनुसार हिजो साँझ ९ बजेदेखि आज बिहान ९ बजेसम्म लागू कर्फ्यूलाई थप गर्दै आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म जारी रहने जनाएको छ।
कर्फ्यू आदेशले तोकेको क्षेत्र पूर्वतर्फ बाईपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गैटसम्म रहने छ।
कर्फ्यू अवधिभर सबै प्रकारका आवतजावत, सभा, जुलुस, प्रदर्शन, भेला र बैठक निषेध गरिएको छ। तर, अत्यावश्यक सेवाका सवारी साधन जस्तै एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका गाडी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी, कुटनीतिक नियोगका गाडी तथा हवाई टिकट देखाएर यात्रा गर्ने यात्रुहरूको हकमा सुरक्षाकर्मीमार्फत सहजीकरण हुने जनाइएको छ।
उक्त आदेश प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जारी गर्नुभएको हो।
