काठमाडौं,२४ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिंदै उनले हिजो Gen Z पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोधस्वरूप आफूले मन्त्री पद त्याग्ने घोषणा गरेका हुन् ।
यादवले आफ्नो सन्देशमा युवा पुस्तालाई नै आफ्नो “प्रथम सहयोगी र उर्जा–स्रोत” भएको उल्लेख गर्दै संयमता अपनाउन र सहि मार्गदर्शन दिन सबैलाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्, “प्रिय युवा भाईबहिनीहरू, तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश–उर्जाका सूत्रधार हुनुहुन्छ । हिजो Gen Z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु ।”
यससँगै उनले शान्तिपूर्ण आन्दोलनलाई अझ सशक्त बनाउन र युवा पुस्ताको माग सम्बोधन गर्न सबै राजनीतिक नेतृत्वलाई जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
