पर्सामा सशस्त्र प्रहरीको तीब्र छापामारी :२० लाख भन्दा बढीका अबैध सामान, नगद र लागू औषध बरामद

समाचार

रसीद आलम।

पर्सा, ८ असोज ।
सशस्त्र प्रहरी बल, नं.१३ गण हे.क्वा. पर्साले पछिल्ला दिनमा जिल्लाभर तीब्र छापामारी अभियान सञ्चालन गरी अबैध कारोबार, तस्करी तथा स्रोत नखुलेको रकमसमेत नियन्त्रणमा लिएको छ। प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सशस्त्र प्रहरीले चाडबाडको समयलाई लक्षित गर्दै पर्साका विभिन्न स्थानमा छापा हानी लाखौं मूल्यका सामान बरामद गरी भन्सार बुझाएको हो।

१५ लाखभन्दा बढीका कपडा र किराना बरामद

असोज ७ गते दिउँसो १२:२५ बजे विशेष सूचनाको आधारमा बीरगञ्ज महानगरपालिका–१६, नगवा पानी ट्याङ्कीस्थित बालकुमार राउत कुर्मीको घरमा सशस्त्र प्रहरीले छापा मारेको थियो। सटरभित्र भन्सार छली चोरी–पैठारी गरी भण्डारण गरिएको करिब रु. १५ लाख १८ हजार ८ सय मूल्य बराबरका कपडा तथा किराना सामग्री बरामद गरी बीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए। बरामदमा १३ लाख ५६ हजार १ सय मूल्य बराबरका कपडा र १ लाख ६२ हजार ७ सय मूल्य बराबरका किराना रहेका थिए।

आदर्शनगरबाट कपडा र जुत्ता बरामद

त्यसैगरी, सोही दिन साँझ ४:४० बजे बीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित रेनु ईम्पोरियमको गोदाममा गरिएको छापामारीबाट २ लाख ८४ हजार ४ सय मूल्य बराबरका कपडा र जुत्ता बरामद भएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा गरिएको सो कारबाहीमा २ लाख ३४ हजार मूल्य बराबरका कपडा र ५० हजार ४ सय मूल्य बराबरका जुत्ता फेला परेका थिए।

स्रोत नखुलेको ८ लाखभन्दा बढी नगदसहित व्यक्ति नियन्त्रण

त्यस्तै, असोज ७ गते दिउँसो १:५० बजे बीरगञ्ज भन्सार मेनगेट नजिकै चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 BF 0469 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा स्रोत नखुलेको रु. ८ लाख ७ हजार नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा पर्सा सखुवापर्सौनी गाउँपालिका–५ बस्ने करिब ४३ वर्षीय राजेश कुमार साह तेली रहेका छन्। मोटरसाइकलसहित नगदको कुल मूल्याङ्कन ९ लाख ५७ हजार पुगेको र आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ। बरामद नगदमा १००० दरका ५१५ थान, ५०० दरका ५७२ थान र १०० दरका ६० थान नोट रहेका थिए।

१९ किलोभन्दा बढी चरेस बरामद

यसअघि, असोज ६ गते राति १ बजे पर्सा जिल्लाको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँस्थित एक फुसको छाप्रोमा सशस्त्र प्रहरीले घेरा हालेर तलासी गर्दा १९.१२६ केजी (२ वटा कालो झोलाभित्र कार्टुनमा राखिएको) अवैध लागुऔषध चरेस बरामद गरेको थियो। बरामद चरेस आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरिया बुझाइएको छ।

एसपी भट्टको प्रतिबद्धता

सशस्त्र प्रहरी पर्साका एसपी पुरन चन्द्र भट्टले पर्सामा शान्ति–सुरक्षा कायम राख्दै तस्करी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। विशेष गरी भिस्वा सिमानाका, अमरपट्टी, प्रशौनी भाट्टा, ठोरी जस्ता संवेदनशील ग्रामीण नाकामा विशेष कार्ययोजना बनाई अबैध गतिविधि नियन्त्रण गर्न आदेश दिइएको उनले जनाए।

उनले भने, “खुला सिमानाका र सीमित स्रोत–साधनका कारण चुनौती भए पनि चाडबाडको समयमा आम नागरिकको ज्यान–धनको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी पूर्ण रूपमा कटिबद्ध छ।”

यसरी, पर्सामा सशस्त्र प्रहरी बलले लगातारको छापामारीबाट ठूलो मात्रामा अवैध सामान, नगद र लागुऔषध बरामद गर्न सफल भएपछि सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा बल पुगेको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *