वीरगञ्ज, ७ असोज ।
सशस्त्र प्रहरी बल पर्सा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको कमाण्डमा सञ्चालन गरिएको छापामारी कार्यबाट करिब पाँच लाख रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले प्राप्त विशेष सूचनाका आधारमा सो छापामारी गरिएको हो। प्राप्त सूचनाअनुसार बीरगञ्ज महानगरपालिका–१६, नगवा पानी ट्याङ्कीस्थित बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी ल्याइएका कपडा तथा किराना सामान भण्डारण गरिएको भन्ने जानकारीपछि प्रहरी टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं.१३ गण पर्साका प्रवक्ता सुरज कार्कीले जनाए।
भन्सार छली गरी ल्याइएका सामानहरु भण्डारण भइरहेको पक्का जानकारी पाएपछि असोज ७ गते अन्दाजी दिउँसो १२:२५ बजे डिएसपी भण्डारीको नेतृत्वमा नौ जना सशस्त्र प्रहरीको टोली तथा वीरगञ्ज भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित दुई जनाको संयुक्त टोली खटिएको थियो। सो संयुक्त टोलीले छापामारी गर्दा अन्दाजी मूल्य रु. ५,००,००० बराबरको कपडा र किराना सामान फेला पारेर नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानहरू आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाउने कार्य भइरहेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।प्रवक्ता कार्कीका अनुसार सो बरामद समानको प्रारम्भिक मुल्य ५ लाख रहेको र मुल्यांकन हुने कार्य भैरहेकोले बढने सक्ने अनुमान गरिएको छ।
यसअघि पनि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गर्दै आइरहेको छ। यस किसिमका अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सतर्क रहँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई थप कडाइका साथ रोकथाम गरिने जनाएको छ।
