काठमाडौं, कार्तिक १३ ।
बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव बिहीबारदेखि नेपालमा देखिने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस चक्रवातका कारण सम्भावित जोखिमबारे सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
विभागका अनुसार चक्रवात ‘मोन्था’ को प्रभाव २०८२ साल कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ। उक्त अवधिमा कोशी, मधेश र बागमती प्रदेशमा वर्षा र हिमपातको प्रभाव बढी रहने अनुमान गरिएको छ।
विभागका प्रवक्ताका अनुसार कोशी र मधेश प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा, र कोशी–मधेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने उल्लेख छ।
यसैगरी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ। सम्भावित हिमपात र वर्षाका कारण बागमती, कमला, कोशी र कन्काई नदीसहितका स–साना सहायक नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने विभागको भनाइ छ।
प्रभावित हुनसक्ने प्रमुख जिल्ला
कोशी प्रदेश: संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी।
मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी।
बागमती प्रदेश: काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली।
जोखिम र सावधानीका उपाय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै सम्भावित जोखिमका कारण सबैमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्राधिकरणले निम्न बुँदामा ध्यान दिन आग्रह गरेको छः
१. अत्यावश्यक नपरी सकेसम्म यात्रा नगर्नु।
२. डुबान हुनसक्ने क्षेत्रका बासिन्दाले उचो तथा सुरक्षित स्थानको जानकारी लिनु र आवश्यक परे स्थानान्तरणको तयारी राख्नु।
३. नदी किनारका बासिन्दाले सतर्क रहनु र जोखिम देखिए सुरक्षित स्थानमा सर्नु।
४. धान तथा अन्य बाली कटाइसकेका किसानले तत्काल भित्र्याउनु।
५. जोखिम क्षेत्रका जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायले सवारी आवागमन सम्बन्धी निर्णय अनुसार काम गर्न अनुरोध।
६. तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन।
विभागका अनुसार चक्रवात ‘मोन्था’ को प्रभावबाट सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा पनि असर पर्न सक्ने भएकाले सबैलाई सतर्क रहन र पूर्वतयारीका उपायहरू अवलम्बन गर्न अनुरोध गरिएको छ।
