मकवानपुर, १ मंसिर ।
मकवानपुर प्रहरीले शंकास्पद रूपमा सामान लोड गरी काठमाडौँतर्फ गइरहेको एक ट्रक नियन्त्रणमा लिँदै चालकलाई पक्राउ गरेको छ। प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट करिब रु. २५ लाख बराबरको बिल–बिजकभन्दा फरक सामान फेला परेको जनाएको छ।
मिति २०८२/०७/३० गते राति अन्दाजी १:३० बजे प्रहरी चौकी भैसेबाट खटिएको टोलीले भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोस्ट नजिकै सवारी साधन रोकी नियमित जाँच गर्ने क्रममा प्रदेश २–०३–००१ ख ३०८२ नम्बरको ट्रकलाई रोकिएको थियो। सो ट्रक बिरगंजतर्फबाट काठमाडौँतर्फ आउँदै गरेको पाइएको प्रहरीले बताएको छ।
चेकजाँचका क्रममा ट्रकमा राखिएका सामान बिल–बिजकसँग मेल नखाने शंका लागेपछि चालक जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६, नगवा बस्ने ४५ वर्षीय विजय साहलाई तत्काल नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिएका छन् ।
उक्त मुद्दाका सम्बन्धमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि चालक साहसहित ट्रक र बरामद सामान राजश्व अनुसन्धान कार्यालय पथलैयातर्फ पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।
