बारा, १७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शंका लागेकाे आधारमा चेकजाँच गर्ने क्रममा करिब रु. १ लाख ५६ हजार मूल्य बराबरकाे चकलेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ मंसिर १६ गते बिहान करिब ११:५० बजे कलैया उप–महानगरपालिका–४ स्थित कटेगन पुल नजिक प्रहरी टोलीले ना २ च १३०४ नम्बरको पिकअपलाई फेला पारी पिछा गरेको थियो। गंजभवानिपुरबाट कलैया तर्फ आइरहेको उक्त सवारी साधनलाई सिदेश्वर मन्दिरबाट अमित पेट्रोल पम्पतर्फ जाने बाटोमा रोकी चेकजाँच गर्दा बिल–विजकभन्दा फरक ६३ कार्टुन र १५ बोरा चकलेट फेला परेकाे प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीको मूल्य करिब रु. १,५६,००० रहेको र पिकअप सहित सामग्री तथा चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति वीरगंज महानगरपालिका–३१, पर्साका २८ वर्षीय ऋषी पटेल हुन्।
उक्त जानकारी बारा प्रहरीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक खेमप्रसाद नेपालले दिएका हुन्।
