वीरगञ्ज,२८ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले आर्थिक वर्ष २०८२/०८३ को सुरुआती पाँच महिनामै अवैध चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा वीरगञ्जले यस अवधिमा रु. १३ करोड ६२ लाख ७२ हजार ६९५ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
विगत आर्थिक वर्षहरूका तथ्यांकसँग तुलना गर्दा चोरी–तस्करी नियन्त्रणमा निरन्तर सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ को १२ महिनामा रु. १४ करोड ९९ लाख ५ हजार ५२८ बराबरको अवैध सामान बरामद भई भन्सार दाखिला गरिएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा यो रकम बढेर रु. २८ करोड ९२ लाख ५० हजार १९९ पुगेको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले जनाएको छ। चालु आर्थिक वर्षको पाँच महिनामै करिब १४ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद भइसकेको अवस्थालाई हेर्दा बाँकी सात महिनामा बरामदी रकम अझ बढ्ने अनुमान गरिएको छ।
यसैगरी, चालु आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले रु. ८ करोड ५९ लाख ७२ हजार ७५० बराबरको अवैध सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा अनुसन्धानका लागि बुझाएको छ। यसअघि आर्थिक वर्ष २०८०/०८१ मा रु. १९ करोड २६ लाख १४ हजार ९८४ र आर्थिक वर्ष २०८१/०८२ मा रु. ११ करोड ९९ लाख ४७ हजार १७८ बराबरको अवैध सामान सोही कार्यालयमा बुझाइएको थियो।
पर्सा जिल्लाको नेपाल–भारत सीमाना अन्तर्गत पर्ने १०७ किलोमिटर लामो सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले अहोरात्र कडा निगरानी राख्दै चोरी–तस्करी नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाइरहेको छ। यसको प्रत्यक्ष प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजश्व संकलनमा देखिएको छ। तथ्यांकअनुसार, वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा रु. १ खर्ब ४२ अर्ब ९८ करोड ५ लाख ५९ हजार ७२८ र आर्थिक वर्ष २०८१/०८२ मा रु. १ खर्ब ७५ अर्ब ७० करोड ६५ लाख ५४ हजार ११० राजश्व संकलन गरेको छ।
राजश्व संकलनको वृद्धिदर पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ। आर्थिक वर्ष २०८०/०८१ मा ६३ प्रतिशत रहेको राजश्व संकलन दर आर्थिक वर्ष २०८१/०८२ मा बढेर ८० प्रतिशत पुगेको छ, जसले करिब १६ प्रतिशत वृद्धि देखाउँछ। चालु आर्थिक वर्षको चार महिनामै रु. ७५ अर्ब ६४ करोड ४ लाख ७ हजार २३५ राजश्व संकलन भइसकेको छ, जुन ८५ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ। यस आधारमा चालु आर्थिक वर्षको बाँकी आठ महिनामा राजश्व संकलनमा अझ उल्लेख्य वृद्धि हुने सहजै अनुमान गर्न सकिन्छ।
जेन–जी आन्दोलन, बेमौसमी वर्षा र त्यसबाट उत्पन्न विपद्, साथै छिमेकी राष्ट्र भारतको बिहार राज्यमा हालै सम्पन्न विधान सभा चुनावजस्ता प्रतिकूल अवस्थाका बाबजुद पनि चोरी–तस्करी नियन्त्रण र राजश्व संकलनमा उल्लेखनीय प्रगति हुनु सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले राजश्व चुहावट नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाएको परिणाम भएको स्थानीयवासीहरूको धारणा छ। जनतालाई समेत सचेत र सूचित गर्दै कडाइका साथ नियन्त्रण अभियान सञ्चालन गरिएकाले सफलता हासिल भएको बताइन्छ।
चोरी–तस्करी नियन्त्रणसँगै आन्तरिक शान्ति सुरक्षामा पनि सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले उल्लेखनीय भूमिका निर्वाह गरेको छ। हालै कटुवा पेस्तोलसहित दुई जना व्यक्ति नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको, साथै ३५० के.जी. गाँजा, ३०.९८ के.जी. चरेस र ठूलो परिमाणमा मनोदीपक लागुपदार्थ बरामद गरी सम्बन्धित निकायमा बुझाइएको घटनाले जिल्लाको आन्तरिक सुरक्षा मजबुत बनाउन सशस्त्र प्रहरी बलको प्रभावकारी भूमिका स्पष्ट रूपमा देखिएको छ।
यसरी चोरी–तस्करी नियन्त्रण, राजश्व चुहावट रोकथाम र आन्तरिक शान्ति सुरक्षामा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले हासिल गरेको उपलब्धिलाई स्थानीयवासी तथा सरोकारवालाहरूले उच्च प्रशंसा गरेका छन्।
