सर्लाही, मंसिर २९। जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी तथा मातहतका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवन, सर्लाहीको संयुक्त टोलीले अवैध रूपमा लगाइएको गाँजा खेती फडानी तथा नष्ट गर्ने कार्य सम्पन्न गरेको छ।
मिति २०८२।०८।२८ गते बिहान करिब ११:२५ बजे लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानहरूमा गरिएको कारबाहीमा करिब ४० बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती फडानी गरिएको हो। उक्त कारबाहीमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी तथा मातहतका कार्यालयबाट १०० जना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट ३० जना गरी जम्मा १३० जनाको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार करिब दुई लाख रुपैयाँ बराबरका गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको हो। अवैध लागुऔषध खेती तथा कारोबार नियन्त्रण गर्न यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
