शीतलहरबाट बच्न सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साको अपिल

समाचार

पर्सा,८ पुस ।
यस वर्ष पर्सा जिल्लामा शीतलहर तथा चिसोको प्रभाव प्रारम्भ भइसकेको छ। जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्थामा चिसोका कारण जनस्वास्थ्य, दैनिक जीवन र पशुपालन क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ। विशेष गरी वालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, सीमान्तकृत वर्ग, गरीब एवं पिछडिएको समुदायका नागरिकहरू शीतलहरबाट बढी जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सतर्कता अपनाउन सबै जिल्लाबासीलाई अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा शीतलहरको जोखिम न्यूनिकरण तथा चिसोबाट जोगिनका लागि अपनाउनुपर्ने विभिन्न सावधानीका उपायहरू उल्लेख गरिएको छ। प्रशासनले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै व्यक्तिगत, पारिवारिक तथा सामुदायिक स्तरमै सचेतना अपनाउन आग्रह गरेको छ।

शीतलहरबाट बच्न अपनाउनुपर्ने मुख्य सावधानीहरू:
न्यानो कपडाको पर्याप्त जोहो गर्न, चिसोको समयमा अनावश्यक रूपमा घर बाहिर तथा खुल्ला स्थानमा धेरै समय नबस्न प्रशासनले सुझाव दिएको छ। शरीरको सबै भाग ढाक्ने गरी सफा, बाक्लो तथा न्यानो कपडा लगाउनुपर्ने, सुत्दा न्यानो सिरक, कम्बल जस्ता ओढ्ने कपडा प्रयोग गरी छाती र टाउको अनिवार्य रूपमा ढाक्नुपर्ने उल्लेख गरिएको छ।

चिसोबाट जोगिन आगो ताप्ने वा विद्युतीय उपकरणको प्रयोग गरी शरीरलाई न्यानो राख्न, तर यस क्रममा पर्याप्त सावधानी अपनाउन अनुरोध गरिएको छ। बेलाबेलामा तातो पानी तथा पोषिलो तातो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न पनि प्रशासनले सुझाव दिएको छ।
वालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीहरूको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरिएको छ। ज्वरो आउने, झाडापखाला लाग्ने, दम बढ्ने, खोकी लाग्ने, घ्यारघ्यार हुने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी तत्काल नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

पशुपन्छी तथा सवारी सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह
शीतलहरको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म खुल्ला स्थानमा नराख्न, चराउन नलैजान र गोठभित्र राखी पर्याप्त घाँस, पराल तथा दाना उपलब्ध गराउन अनुरोध गरिएको छ। गोठ तथा टहरालाई सफा र न्यानो बनाउनुपर्ने तथा चिसोका कारण पशुपन्छी बिरामी भएमा नजिकैको पशु चिकित्सालय, स्थानीय तहको पशु सेवा शाखा वा योग्य पशु चिकित्सकसँग सम्पर्क गरी आवश्यक उपचार गराउन भनिएको छ।

त्यसैगरी, कोठाभित्र आगो बालेर तातो बनाउँदा वा हिटरजस्ता विद्युतीय उपकरण प्रयोग गर्दा झ्यालढोका खुला राखी पर्याप्त अक्सिजनको आवतजावत सुनिश्चित गर्न, सुत्नु अघि अनिवार्य रूपमा आगो निभाएर तथा विद्युतीय उपकरण बन्द गर्न प्रशासनले विशेष सचेत गराएको छ।

शीतलहरको समयमा हुस्सु वा कुहिरो लागेको अवस्थामा सवारी साधन चलाउँदा गति सीमित गर्न, अनिवार्य रूपमा फग लाइट बाल्न, आवश्यक परे हेडलाइट प्रयोग गर्न र हर्न बजाउँदै सावधानीपूर्वक सवारी चलाउन पनि आग्रह गरिएको छ। साथै, चिसो वा भिजेको कपडा नलगाउनसमेत अनुरोध गरिएको छ।

प्रेस विज्ञप्तिमा सम्बन्धित स्थानीय तहहरूमार्फत दाउरा वितरण कार्यका लागि डिभिजन बन कार्यालयसँग समन्वय तथा पहल भइरहेको जानकारी पनि दिइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सबै नागरिकलाई शीतलहरको जोखिमलाई गम्भीर रूपमा लिन र उल्लेखित सावधानीहरू अवलम्बन गरी आफू र परिवारको सुरक्षामा ध्यान दिन हार्दिक अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *