काठमाडौं, २ माघ।
बालेन्द्र (बालेन) शाहले भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाललाई सुरक्षित र दिगो राष्ट्र बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। सामाजिक सञ्जालमार्फत लामो सन्देश सार्वजनिक गर्दै उनले आफ्नो सिभिल तथा स्ट्रक्चरल इन्जिनियरको अनुभव, भूकम्पपछिको पुनर्निर्माणमा गरेको योगदान र स्थानीय तहबाट सुरु भएको सुधारलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
बालेन शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि आफू सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गर्दै काभ्रेमा मात्र करिब २५ सय घर निर्माणमा संलग्न भएको उल्लेख गरेका छन्। उनले गोरखालगायत देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दा नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशलाई केवल इन्जिनियरिङ दृष्टिकोणले मात्र बनाउन नसकिने पाठ सिकेको बताएका छन्।
उनले विकासलाई केवल सडक, भवन र ठूला संरचनासँग सीमित गर्न नहुने भन्दै भूगोलसँगै समाजका विविध पक्षलाई सँगै उकास्नुपर्नेमा जोड दिएका छन्। “राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो,” उनले लेखेका छन्।
भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै उनले सुरक्षित संरचना, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्व आवश्यक रहेको बताए। यही उद्देश्यले आफूले भारतमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र विदेशमा सुविधा हुँदा पनि देश फर्किएको उनले स्मरण गरेका छन्।
काठमाडौं महानगरको नेतृत्व सम्हालेपछि शब्दभन्दा कामलाई प्राथमिकता दिएको बताउँदै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सुधार गर्न सक्ने उदाहरण देखाइएको दाबी गरे। पारदर्शी प्रणाली, सेवा प्रवाह सुधार र संरचनागत परिवर्तन महानगरबाट सुरु भएको र अब यसलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको भनाइ छ।
बालेन शाहले अब नेपाललाई अल्पकालीन निर्णय नभई दीर्घकालीन दृष्टिकोण, लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व आवश्यक रहेको बताए। राजनीतिमा आउनुको उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको उनको भनाइ छ।
उनले निष्कर्षमा भनेका छन्—
“नीति यस्तो बन्नुपर्छ जसले संकट आउनुअघि तयारी गर्छ।
संरचना यस्तो बन्नुपर्छ जसले विपद् सहन सक्छ।
शासन यस्तो हुनुपर्छ जसले जनताको विश्वास जित्छ।”
उनले यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको भन्दै सबैको साथ, सहयोग र विश्वासको आह्वान गरेका छन्।
