धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या प्रकरण : पत्नी र प्रेमी पक्राउ

समाचार

बारा, १५ माघ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरिया डिहमा धारिलो हतियार प्रयोग गरी एकै परिवारका दुई जनाको हत्या भएको घटनामा संलग्न अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ माघ १४ गते बिहान करिब २ बजेको समयमा स्थानीय ५० वर्षीय जगरूप मण्डलको घरभित्र अपरिचित पुरुष प्रवेश गरी परिवारका पाँच जनामाथि चक्कु प्रहार गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो।

घटनामा गम्भीर घाइते भएका जगरूप मण्डलका ३१ वर्षीय छोरा रामईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको शव घटनास्थल तथा लास जाँच मुचुल्का पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ।

घाइतेको अवस्था

घटनामा ५० वर्षीय जगरूप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन्। दुवैको एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा सनसनीखेज खुलासा

प्रहरी अनुसन्धानका क्रममा मृतक रामईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुक घटनामा संलग्न रहेको खुलेको छ।
मनिता देवी मण्डललाई उपचारपछि अस्पतालबाटै नियन्त्रणमा लिइएको हो भने धर्मेन्द्र महतो धानुकलाई बिश्रामपुर गाउँपालिका–४ मुसहर्वाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार धर्मेन्द्र महतो धानुक वैदेशिक रोजगारीका लागि यूएईमा कार्यरत रहेको र मिति २०८२ माघ ११ गते नेपाल फर्किएपछि परिवारको सम्पर्कमा नबसी मनिता देवीसँग मिलेर हत्या योजना बनाई घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

घटनाको कारण

प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण उत्पन्न घरायसी विवाद नै घटनाको मुख्य कारण रहेको प्रहरीले जनाएको छ।

कानुनी प्रक्रिया

पक्राउ परेका दुवै अभियुक्तलाई ज्यानसम्बन्धी कसुरमा सम्मानित बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विजयराज पण्डितले जानकारी दिएका छन्

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *