वीरगञ्ज, २६ माघ ।
पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय नेता अनिल रुङ्टाको नेतृत्वमा बिरगञ्ज महानगरपालिका–११ (श्रीपुर) मा सम्पन्न घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम ऐतिहासिक जनसहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ।
वडा नं. ११ का बुथ सभापतिको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। विशेषगरी श्रीपुर क्षेत्रका जेन–जी युवाहरू, बुद्धिजीवी तथा अग्रजहरूको उत्साहपूर्ण सहभागिताले कांग्रेसको संगठनात्मक आधार थप सुदृढ बन्दै गएको संकेत दिएको छ।
घरदैलो तथा भेटघाटका क्रममा स्थानीय बासिन्दा, युवा, महिला तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई ऊर्जाशील र सकारात्मक बनाएको थियो। स्थानीय जनताबाट प्राप्त समर्थनले उम्मेदवार रुङ्टाप्रतिको जनविश्वास दिनानुदिन बलियो बन्दै गएको स्पष्ट देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
विशेषगरी सचेत, शिक्षित र सक्रिय युवाहरू—विधिशा जस्ता युवाहरूले देखाएको अटुट विश्वास नै रुङ्टाको प्रमुख राजनीतिक शक्ति बनेको स्थानीयहरूको प्रतिक्रिया छ।
कार्यक्रममा सहभागी नागरिकहरूले आफ्नो क्षेत्रका समस्या, पीडा र अपेक्षाहरू खुला रूपमा प्रस्तुत गर्दै विकास, रोजगारी, शिक्षा र पूर्वाधार सुदृढीकरणका विषयमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अनिल रुङ्टाले निर्वाचनमा विजयी भएपछि बहिनी–छोरीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
उनले सरकारी विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा, छात्राहरूको शैक्षिक पहुँच विस्तार, शिक्षामा समान अवसर, महिला सशक्तीकरण तथा गुणस्तरीय र सुरक्षित भविष्य निर्माण आफ्नो मुख्य एजेन्डा रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत
ने.वि.संघ, तरुण दलका नेता, वरिष्ठ नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सबैले पर्सा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टालाई भारी मतका साथ विजयी गराउने सामूहिक संकल्प व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, यस किसिमको जनउत्साह, पार्टी प्रवेश र व्यापक समर्थनले पर्सा क्षेत्र नं. १ मा नयाँ राजनीतिक इतिहास रचिने संकेत दिएको छ।
अनिल रुङ्टाको घरदैलो कार्यक्रममा देखिएको जनसहभागिता र साझा विश्वासले“सुझबुझको आवाज” अब नारा मात्र नभई वास्तविक परिवर्तनको आधार बन्दै गएको स्पष्ट संकेत गरेको छ।
