हराएका दुई बालबालिका प्रहरीको सक्रियतामा फेला, अभिभावकको जिम्मा लगाइयो

समाचार

पर्सा, ३ फागुन। वीरगञ्ज महानगरपालिका–१३ ब्रहमचोकबाट हराएका दुई बालबालिकालाई प्रहरीले सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका–१३ ब्रहमचोक निवासी अरमान हवारीकी ४ वर्षीया छोरी आरोइन खातुन र २ वर्षीय छोरा सजात हवारी हराएको सूचना प्राप्त भएपछि तत्काल खोजतलास अभियान सञ्चालन गरिएको थियो।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी निरीक्षक नविन थापा मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले ती बालबालिकाको खोजी कार्य तीव्र बनाएको थियो। प्रहरीको सक्रिय खोजतलासपछि हराएका दुवै दिदी–भाइलाई सकुशल अवस्थामा फेला पारिएको हो।

फेला परेका बालबालिकालाई आवश्यक सोधपुछ तथा पहिचानपछि उनीहरूका पिता अरमान हवारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले बालबालिकाको सुरक्षामा अभिभावकलाई थप सतर्क रहन आग्रह गर्दै कुनै पनि बालबालिका हराए वा शंकास्पद अवस्था देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

प्रहरीको सक्रियता र समुदायको सहकार्यले सम्भावित जोखिम टरेको भन्दै स्थानीयले प्रहरीको प्रशंसा गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *