पर्सा, फागुन ४ ।आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी ले पर्सा जिल्लामा कार्यरत तथा थप मदतका लागि खटिएका प्रहरी अधिकृतहरूलाई विशेष अनुशिक्षण कार्यक्रम प्रदान गरेको छ।
पर्सा जिल्लामा तालुक कार्यालयबाट निर्वाचन सुरक्षाका लागि खटि आएका प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतहरूलाई जिल्लाको समग्र सुरक्षा अवस्थाबारे विस्तृत जानकारी दिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले अनुशिक्षण प्रदान गर्दै जिल्लाको भौगोलिक बनावट, निर्वाचन क्षेत्रहरूको अवस्था, संवेदनशील तथा अति संवेदनशील मतदानस्थल र मतदान केन्द्रहरूको सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए।
अनुशिक्षणका क्रममा निर्वाचन अवधिमा अपनाउनुपर्ने सुरक्षा रणनीति, भीड व्यवस्थापन, आकस्मिक परिस्थितिमा अपनाइने कार्ययोजना तथा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिकाबारे विशेष जोड दिइएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त अनुशिक्षणले निर्वाचन सुरक्षालाई प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। साथै निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पार्दै मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहयोग गरिने प्रहरीले जनाएको छ।
