पशुपतिनाथमा शिवरात्रि: श्रद्धालुमाथि अभद्र व्यवहार गर्ने युवक नियन्त्रणमा

समाचार

काठमाडौं, फागुन ६। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका श्रद्धालु भक्तजनमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मकवानपुर जिल्ला ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो। उनले शिवरात्रिको अवसरमा मन्दिर परिसरमा उपस्थित श्रद्धालु भक्तजनलाई अभद्र व्यवहार गर्नुका साथै ड्युटीमा खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीको कर्तव्य पालनामा समेत अवरोध गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल खटिएको प्रहरी टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले धार्मिक स्थलमा शान्ति, सुरक्षा र अनुशासन कायम राख्न सबैलाई सहयोग गर्न समेत आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *