पर्सा, १९ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ।
जिल्ला सुरक्षा समिति पर्साको निर्णयअनुसार मिति २०८२/११/१८ गतेदेखि २०८२/११/२१ गते मध्यराति १२:०० बजेसम्म पर्सा जिल्लाभरका सिमानाका बन्द गरिएको छ। भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त निर्णय विपरीत चलाइरहेका भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरिया मा राखिएको छ।
निर्वाचन अवधिभर सीमावर्ती तथा संवेदनशील क्षेत्रमा विशेष निगरानी, सवारी जाँच तथा संयुक्त सुरक्षा गस्तीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रशासनले निर्वाचन अवधिभर सुरक्षा सम्बन्धी निर्णयको पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
