वीरगञ्ज,८ चैत । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को त्रैमासिक परीक्षा अन्तिम समयमा आएर रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूले आकस्मिक रूपमा परीक्षा स्थगित गरिएको सूचनापछि क्याम्पस परिसरमै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले क्याम्पसको बसमा तोडफोड गर्दा ठूलो क्षति पुगेको जनाइएको छ। विद्यार्थीहरूले परीक्षा निर्धारित समयमै सञ्चालन गर्नुपर्ने, नियमित कक्षा तथा शैक्षिक गतिविधि अवरुद्ध नहुने गरी व्यवस्थापन गर्नुपर्ने माग राख्दै क्याम्पसको मुख्यद्वार अगाडि धर्ना दिएका थिए। सो क्रममा उनीहरूले क्याम्पस प्रमुख तथा सञ्चालक समितिविरुद्ध नाराबाजी समेत गरेका थिए।
विद्यार्थीहरूका अनुसार क्याम्पसभित्र शिक्षा विभाग, प्रशासन, कर्मचारी तथा सञ्चालक समितिबीचको आन्तरिक विवादका कारण पटक–पटक पठनपाठन र परीक्षा प्रभावित हुँदै आएको छ। यसले आफ्नो शैक्षिक भविष्यमा असर पर्ने भन्दै उनीहरूले तत्काल समाधानको माग गरेका छन्।
आन्दोलन उग्र बन्दै जाँदा विद्यार्थीहरूले र्याली निकाल्दै घण्टाघरसम्म पुगेर चक्काजाम गर्नुका साथै टायर बालेर विरोध जनाएका थिए। यसका कारण मुख्य सडक दुईतर्फी रूपमा केही समय अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेलको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
हाल स्थिति सामान्य बनाउने प्रयासस्वरूप जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत विद्यार्थी, क्याम्पस प्रशासन तथा सम्बन्धित पक्षबीच वार्ता जारी रहेको स्रोतले जनाएको छ।
