वीरगञ्ज, १९ चैत।
डा.उदय नारायण सिंहले भर्ना गरेका बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।वीरगञ्जस्थित सीता सुपरस्पेशालिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचारका क्रममा एक ५८ वर्षीया महिलाको मृत्यु भएपछि अस्पताल तथा डाक्टरमाथि लापरबाहीको आरोप लागेको छ।
मृतकका आफन्तले उपचार प्रक्रियामा कमजोरी रहेको दाबी गरेका छन् भने अस्पताल प्रशासनले आरोप अस्वीकार गरेको छ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ निवासी श्रीपती देवीलाई २०८२ चैत १६ गते वीरगञ्ज महानगरपालिका–४ बिर्तामा अवस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार राति करिब ९ बजे उनको मृत्यु भएको मृतकका आफन्त रबिन्द्र प्रसाद कुशवाहाले जानकारी दिएका छन्।
आफन्तका अनुसार बिरामीको उपचारका क्रममा आवश्यक सावधानी नअपनाइएको तथा चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको आरोप लगाइएको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन्।

अस्पतालद्वारा उपलब्ध गराइएको विवरणअनुसार बिरामीलाई डा. उदय नारायण सिंहले भर्ना गरेका थिए। उपचारका क्रममा इन्जेक्सन मोनोसेफ १ ग्राम र इन्जेक्सन लासिक्स २० एमजी प्रयोग गरिएको उल्लेख छ। उपचार प्रक्रियामा डा. मुकुन्द जयसवाल (एनएमसी नं. ३७७१३) तथा स्टाफ नर्स बबिता साह (काउन्सिल नं. ६४९९३) संलग्न रहेको जनाइएको छ।
यसैबीच, अस्पताल प्रशासनका तर्फबाट डा. दीपक चौरसियाले उपचारमा कुनै लापरबाही नभएको स्पष्ट पारेका छन्। उनका अनुसार अस्पतालले उपलब्ध स्रोत र साधनका आधारमा बिरामीको जीवन बचाउन हरसम्भव प्रयास गरेको र लगाइएको आरोप निराधार रहेको दाबी गरिएको छ।
उता पर्सा प्रहरीले घटनाबारे पुष्टि गर्दै मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रहरीले शवको पोस्टमार्टम प्रक्रिया भइरहेको र त्यसपछि मात्रै मृत्युको यथार्थ कारण खुल्ने जानकारी दिएको छ।
