काठमाडौँ ,२६ चैत । शेर बहादुर देउवाले आफ्नो तथा परिवारको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु भएको विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।
देउवाले सञ्चारमाध्यमबाट उक्त अनुसन्धानबारे जानकारी पाएको उल्लेख गर्दै आफ्नो र परिवारको सम्पत्तिबारे भ्रामक तथा झुटा प्रचार भइरहेको दाबी गरेका छन्। उनले नेपालको प्रचलित कानुन अनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिसकेको स्पष्ट पारे।
उनले देशमा लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शितासहित राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्ने मान्यताका लागि आफूले जीवनभर संघर्ष गरेको उल्लेख गरेका छन्। “मेरो जीवन एउटा खुला पुस्तक जस्तै हो,” उनले भनेका छन्।
देउवाले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको पनि स्मरण गराएका छन्।
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार जारी रहेको बताएका छन्। साथै, वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने भन्दै अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्।

उनले आफ्नो वक्तव्य “जय नेपाल” भन्दै समाप्त गरेका छन्।
