प्रतिबन्धित चल्ला ३ लाख बराबरको ३६ कार्टुनसहित बरामद, खाडल खनेर नष्ट

समाचार

पर्सा, १३ बैशाख । पर्साको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित ब्रॉयलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ।

बैशाख १३ गते बिहान करिब ०३:४५ बजे पर्साको विन्दवासिनी गाउँपालिका–३ स्थित छटियाघाट सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत बीओपी अमरपट्टीबाट खटिएको टोलीले उक्त चल्ला बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर रावतको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको चल्ला नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार करिब ६ जना व्यक्तिले भार बनाई बोकी ल्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मी देखेपछि उनीहरू चल्ला छाडेर फरार भएका थिए।

घटनास्थलबाट अन्दाजी रु. ३ लाख २४ हजार बराबरका ३६ कार्टुनमा राखिएका ३६०० गोटा प्रतिबन्धित ब्रॉयलर चल्ला बरामद गरिएको हो।

बरामद गरिएको चल्ला पशु स्वास्थ्यमा जोखिम हुन सक्ने भएकाले पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा नेपाल प्रहरीको रोहबरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म मुख्यालय अलौको परिसरभित्र खाडल खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा अवैध आयात तथा तस्करी नियन्त्रणका लागि निगरानी कडा पारिएको र यस्ता गतिविधिमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *