पर्सा, २० बैशाख । सामाजिक सेवा तथा मानवीय सहयोगमा सक्रिय ह्युमन लभ च्यारिटी फण्ड ले वीरगञ्जस्थित मानव सेवा आश्रममा “मिलन समारोह” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
डा. एम.डी. इमरान अहमदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवेश गुप्ता प्रमुख अतिथि तथा लायन्स क्लब पोखरियाका अध्यक्ष निजामुद्दिन समानी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए। त्यसैगरी शिक्षा प्रेमी सलाउद्दिन अहमद, शिक्षक सरोज पटेल, ताहिर अन्सारी, सोहायर अन्सारी तथा धोबिनी गाउँपालिकाका वडा अध्यक्ष मनौवर अहमद लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष रेयाज हुसैनले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष दिपेन्द्र चौधरी सहनीले व्यक्त गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मुकेश प्रसाद पटेल समेत उपस्थित थिए।
कार्यक्रममा बोल्दै निजामुद्दिन समानीले संस्थाले गरिरहेको मानवीय कार्यको प्रशंसा गर्दै लायन्स क्लब पोखरियासँग सहकार्य गरी थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे। प्रमुख अतिथि देवेश गुप्ताले ग्रामीण क्षेत्रका विद्यालयहरूमा निःशुल्क मोटिभेसनल कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
सो अवसरमा ह्युमन लभ च्यारिटी फण्डले मानव सेवा आश्रममा आश्रित सबैलाई खाजा वितरण गरेको थियो। वक्ताहरूले संस्थाले समाजमा सेवा, सहयोग र एकताको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
