काठमाडौं, जेठ ८ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपाल राजपत्रमा मिति २०८२ फागुन १८ गते प्रकाशित सूचनाअनुसार बकर ईद (ईद-उल-अज्हा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ।
मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष २०८३ साल जेठ १४ गते बिहीबारका दिन बकर ईद पर्व परेको पुष्टि भएपछि सो दिन देशभर सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बकर ईद पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।
बकर ईद इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्वमध्ये एक मानिन्छ। त्याग, समर्पण र मानव सेवाको सन्देश दिने यो पर्व नेपालसहित विश्वभरका मुस्लिम समुदायले विशेष उत्साहका साथ मनाउने गर्दछन्।
