पर्सा, १२ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सा ले वैशाख महिनाको “POLICE OF THE MONTH” घोषणा गर्दै प्रहरी जवान रमेश प्रसाद कुशवाहालाई सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप राज पाठक ले उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनलाई सम्मान प्रदान गर्नुभएको हो।
प्रहरी चौकी हात्तिलेट महोत्तरी दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखा (CAP) मा कार्यरत प्रहरी जवान कुशवाहाले विभागीय नीति निर्देशनलाई आत्मसात् गर्दै अनुशासित, लगनशील, इमान्दार तथा कर्तव्यनिष्ठ ढंगबाट जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको प्रहरीले जनाएको छ।
कार्यालयका अनुसार उनले तालुक कार्यालयहरूमा दैनिक, पाक्षिक तथा मासिक जाहेरीहरू कैफियत रहित रूपमा समयमै पठाउने, फैसला कार्यान्वयन अन्तर्गत फरार तथा पक्राउ प्रतिवादीहरूको विवरण नियमित रूपमा अद्यावधिक गर्ने तथा मासिक कार्यसम्पादन सम्झौताका विभिन्न बुँदाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित हुन सफल भएकोमा प्रहरी जवान कुशवाहाको भूमिका उल्लेखनीय रहेको जनाइएको छ।
उत्कृष्ट कार्यसम्पादनबाट अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै पर्सा प्रहरीले प्रहरी संगठनको छवि उच्च राख्न उनले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको जनाएको छ।
“POLICE OF THE MONTH” घोषित हुनु भएका प्रहरी जवान रमेश प्रसाद कुशवाहालाई जिल्ला प्रहरी कार्यालय पर्साले हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सेवाका लागि शुभकामना व्यक्त गरेको छ।
