तीन वर्षअघि गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त बारा प्रहरीको फन्दामा

समाचार

बारा, जेठ २० ।तीन वर्षअघि बारा जिल्लाको पचरौता नगरपालिकामा भएको चर्चित हत्या घटनाका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) राजीव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले हत्या अभियोगमा फरार रहेका भारत बिहार राज्यका एक व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८० साल असोज ९ गते साँझ करिब ५ः५५ बजे बाराको पचरौता नगरपालिका–६ पकडियास्थित लक्ष्मिनिया पोखरीको डिलमा अजित कुमार सिंहमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न भई घटनापछि फरार रहेका भारतको बिहार राज्य, मोतिहारी जिल्ला, दरपा थाना अन्तर्गत तिनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय रञ्जित मुखियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा खोजतलास तीव्र बनाएको प्रहरीले उनलाई बाराको पचरौता नगरपालिका–४ बेल्दारी क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका मुखियालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार हत्या घटनापछि लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले निरन्तर निगरानी र अनुसन्धान गरिरहेको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिन सफलता प्राप्त भएको हो।

यस पक्राउसँगै तीन वर्षअघि भएको हत्या घटनाको अनुसन्धानले महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *