मधेस प्रदेश, २२ जेठ । मधेस प्रदेशमा तस्करी तथा राजस्व छली नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका सामान बरामद गर्न सफलता हासिल गरेको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकाल को निर्देशन तथा तस्करी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण पिलुवाले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरदिप कुमार बस्नेत को नेतृत्वमा सञ्चालन गरिएको विशेष निगरानी तथा सूचनाको आधारमा उक्त सफलता हात लागेको सशस्त्र प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार, २०८३ साल जेठ २२ गते दिउँसो करिब १२:१० बजे बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा बजार क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक दिलीप बस्नेत को कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ७४०९ नम्बरको पिकअप भ्यान लाई शंकाको आधारमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा भ्यानभित्र भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका सामान फेला परेपछि सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ इनर्वा निवासी ४५ वर्षीय विरकिशोर साह रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरूमा विभिन्न ब्राण्डका चश्मा, कोट–पाइन्टका कपडा, साडी, मोबाइल फोन लगायतका सामग्री रहेका छन्। बरामद सामानको मूल्य करिब ४३ लाख ५२ हजार ५ सय रुपैयाँ तथा पिकअप भ्यानको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेको छ। यसरी बरामद सामान र सवारीसाधनको कुल मूल्य ५८ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान तथा पिकअप भ्यान आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको छ।
हालका दिनहरूमा मधेस प्रदेशका सीमावर्ती क्षेत्रहरूमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी बढाएको छ। विशेष गरी भारतसँग खुला सीमा जोडिएका बारा, पर्सा, रौतहट तथा सर्लाही जिल्लामा अवैध सामान ओसारपसार रोक्न नियमित चेकजाँच, गस्ती तथा सूचनामूलक अपरेसन सञ्चालन भइरहेका छन्।
सशस्त्र प्रहरी बलका अधिकारीहरूका अनुसार तस्करी नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै राजस्व चुहावट रोक्ने, अवैध व्यापार नियन्त्रण गर्ने तथा सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ बनाउने कार्यलाई निरन्तरता दिइनेछ। यस सफल कारबाहीले अवैध व्यापारमा संलग्न समूहहरूलाई स्पष्ट सन्देश दिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
