अबैध असुली प्रकरण :वीरगञ्जमा भन्सारको नाममा रकम असुल्ने दुई जना पक्राउ

समाचार

वीरगञ्ज, जेठ ३१ । भन्सार प्रक्रिया सहज गराइदिने तथा आफूलाई भन्सार कर्मचारी बताउँदै सर्वसाधारणबाट अवैध रूपमा रकम असुल्ने दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका अनुसार आइतबार  बिहान करिब ११ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको यात्रु शाखामा शंकास्पद गतिविधि गरिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–६ निवासी दिपक शाह रहेका छन्।

प्रहरीका अनुसार शाहले भारतीय नागरिकसँग सवारी साधनको भन्सार प्रक्रिया सहज गराइदिने भन्दै गाडीका कागजात तथा रकम मागिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको छ।

त्यसैगरी साँझ करिब ६ः१५ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित सिर्सिया चोकमा आफूलाई भन्सार कर्मचारी परिचय दिँदै विभिन्न व्यक्तिबाट अवैध रूपमा रकम उठाउँदै आएका प्रमोद कुमार कुर्मी (वर्ष ४८) लाई पनि सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।
स्थानीयवासीबाट लामो समयदेखि कुर्मीले भारतबाट सामान ल्याउने व्यक्तिहरूसँग ‘भन्सार तिर्नुपर्छ’ भन्दै रसिदबिनै रकम असुल्ने गरेको गुनासो आएपछि सशस्त्र प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा सशस्त्र प्रहरी निरीक्षक पदमपाणि पाण्डेको नेतृत्वमा खटिएको टोलीले उनलाई एक व्यक्तिबाट भन्सार शुल्क भन्दै रु. १२० लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ गर्ने क्रममा कुर्मीले सुरक्षाकर्मीमाथि दुर्व्यवहार तथा गालीगलौज गर्दै आफूले लिएको रकम नजिकैको पसलमा फ्याँकेको बताइएको छ। प्रहरीले उक्त रकम समेत बरामद गरी उनलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरीले भन्सारको नाममा अवैध रकम असुल्ने गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *