वीरगञ्ज, असार २। नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८३ जेठ १२ गतेको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्साल, काठमाडौंबाट सरुवा भई नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज (पर्सा) मा कार्यभार सम्हाल्न आउनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगर को स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूले नवनियुक्त कार्यालय प्रमुख एसएसपी पल्ली मगरलाई हार्दिक स्वागत गरेका थिए।
स्वागत समारोहलगत्तै एसएसपी पल्ली मगरले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जको कार्यालय प्रमुखको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणसँगै उहाँले प्रदेशस्तरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै संगठनको गरिमा र जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
नवनियुक्त कार्यालय प्रमुखको आगमनसँगै प्रदेश कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने अपेक्षा गरिएको प्रहरी स्रोतले जनाएको छ।
