हरित वीरगञ्ज अभियानलाई नयाँ गति : ‘एक घर–एक बिरुवा’ कार्यक्रममार्फत ४०० बिरुवा वितरण, वृक्षारोपणमा जनसहभागिता

समाचार

वीरगञ्ज, साउन ६ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगञ्ज, पर्साको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘एक घर–एक बिरुवा वितरण तथा वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका–१० स्थित हरि खेतान बहुमुखी क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले वातावरण संरक्षणमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको सन्देश दिँदै प्रत्येक घरमा कम्तीमा एक बिरुवा रोप्ने अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, भारतीय दूतावासका प्रतिनिधि मिना देवी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र बहादुर मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीय छात्र–छात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा विभिन्न जातका करिब ४०० बिरुवा निःशुल्क वितरण गरिएको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए। उनका अनुसार वितरण गरिएका बिरुवाहरू घर, विद्यालय, सार्वजनिक स्थल तथा खाली जमिनमा रोपेर संरक्षण गर्न सहभागीहरूलाई आग्रह गरिएको छ।

वक्ताहरूले वृक्ष मानव जीवनको आधार भएको उल्लेख गर्दै वातावरणीय सन्तुलन कायम राख्न बिरुवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनीहरूले बिरुवाले प्रशस्त अक्सिजन उत्पादन गर्ने, कार्बन डाइअक्साइड अवशोषण गरी वायु प्रदूषण कम गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, वर्षा चक्रलाई सन्तुलित राख्ने तथा पृथ्वीको पारिस्थितिक प्रणाली (इको सिस्टम) संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

डीएसपी चक्र बहादुर मल्लले समुदाय–प्रहरी साझेदारी कार्यक्रम शान्ति सुरक्षा कायम गर्ने अभियान मात्र नभई सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र नागरिक चेतना अभिवृद्धि गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको बताए। उनले वातावरण जोगाउने अभियानमा प्रहरी र समुदायको सहकार्य अझ सशक्त हुनुपर्नेमा जोड दिए।

भारतीय दूतावासका प्रतिनिधि मिना देवीले वातावरण संरक्षण विश्वव्यापी चुनौती बनेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले हरियाली विस्तारका लागि सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औँल्याए।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले समुदायसँगको सहकार्यले सामाजिक अभियानहरू प्रभावकारी बन्दै गएको उल्लेख गर्दै वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउन सबैलाई आग्रह गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि वातावरण संरक्षणको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गर्दै आफूहरूले रोपेका बिरुवाको संरक्षण गर्ने अठोट व्यक्त गरेका थिए। वितरण गरिएका बिरुवाहरू घरघरमा रोप्ने उद्देश्यसहित सहभागीहरूलाई हस्तान्तरण गरिएको थियो।

आयोजकका अनुसार ‘एक घर–एक बिरुवा’ अभियानले केवल बिरुवा वितरणमा सीमित नरही त्यसको संरक्षण र नियमित हेरचाहमा समेत जोड दिनेछ। आगामी दिनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत वातावरण संरक्षण, सरसफाइ, सामाजिक सचेतना तथा सामुदायिक विकाससँग सम्बन्धित यस्ता अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

कार्यक्रमको अन्त्यमा आयोजकले हरित, स्वच्छ र वातावरणमैत्री वीरगञ्ज निर्माणका लागि सबै नागरिकलाई वृक्षारोपणमा सहभागी भई रोपिएका बिरुवाको संरक्षण गर्न आग्रह गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *