वीरगञ्ज,१८ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलस्थित जामे मस्जिदले भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकको सहयोगार्थ रु. ७५ हजार ७ सय ८६ सहयोग गरेको छ।
मस्जिदले विपद्को कठिन परिस्थितिमा बाढीपीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो।
प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकको पीडामा मलम लगाउने उद्देश्यले गरिएको यस सहयोगले सामाजिक सद्भाव, मानवीय सहयोग र सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ।
विपद्को समयमा पीडित नागरिकको साथमा उभिँदै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याएकोमा जामे मस्जिदप्रति स्थानीयद्वारा धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
