काठमाडौं, भदौ १८ ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई राहत, सहयोग र पुनर्स्थापनाका लागि महत्वपूर्ण निर्णय गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारी, अन्य सुरक्षाकर्मी तथा सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा निरन्तरता दिने निर्णय गरिएको छ।
बैठकले सशस्त्र प्रहरी कर्मचारीहरूको तलबबाट निश्चित दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ। जसअनुसार सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक तथा वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षकदेखि निरीक्षकसम्मले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन र सशस्त्र प्रहरी परिचरले ३ दिन बराबरको तलब योगदान गर्नेछन्।
तर बाढीका क्रममा बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको तलबबाट रकम कट्टा नगरिने भएको छ।
बाढीमा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई संगठनको तर्फबाट तत्काल १५ लाख रुपैयाँ, प्रचलित राहत कार्यविधिअनुसार ५ लाख र सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोषबाट ५ लाख गरी कूल २५ लाख रुपैयाँ राहत उपलब्ध गराइने निर्णय भएको छ।
त्यस्तै, मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गरिनेछ। मृतकका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने व्यवस्था पनि गरिएको छ।
बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। मृतक सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने तथा मृतकका आश्रित परिवारका एक/एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गर्ने निर्णयसमेत गरिएको छ।
बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत प्रदान गरिनेछ। बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति वा घाइते भएको अवस्थामा ५० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय भएको छ।
घाइते अवकाश प्राप्त सशस्त्र प्रहरीलाई आईजीपी पौडेलको भेट

यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भोटेकोशी बाढीका क्रममा रसुवाको टिमुरेमा घाइते भई काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत अवकाश प्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगरलाई भेट गर्नुभएको छ।
भेटका क्रममा महानिरीक्षक पौडेलले घर्ती मगरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले विपद्को यस कठिन घडीमा संगठन सदैव पीडित तथा प्रभावित कर्मचारी र परिवारको साथमा रहेको बताउनुभयो।
सशस्त्र प्रहरी बलको उक्त निर्णयले बाढीबाट प्रभावित कर्मचारी तथा उनीहरूका परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा शिक्षा, रोजगारी तथा पुनर्स्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
