वीरगञ्ज, भदौ २७। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का वडाध्यक्ष अशेश्वर प्रसाद यादवमाथि मध्यरातमा चक्कु देखाएर लुटपाट गर्ने प्रयास भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
मिति २०८३ भदौ २६ गते राति करिब ११ बजेको समयमा सखुवा प्रसौनी गाउँपालिका–६ स्थित हुलाकी सडकखण्डमा घटना भएको पर्सा प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार वीरगञ्जबाट लखनपुरतर्फ म.प्र.७३–०३६प ६७३३ नम्बरको बुलेट मोटरसाइकलमा जाँदै गरेका वडाध्यक्ष यादवलाई केही व्यक्तिले बाटोमा रोकेर चक्कु देखाउँदै लुटपाट गरेका थिए। पीडितका अनुसार उनीसँग रहेका कपडा तथा रकमसमेत लुटिएको थियो।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी महुवनबाट प्रहरी सहायक निरीक्षक रामाशंकर कुमार यादवको कमान्डमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीले घटनामा संलग्नमध्ये एक जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका बस्ने करिब १५ वर्षीय करण यादव रहेका छन्। प्रहरीले उनको साथमा रहेको स्कुटीसमेत नियन्त्रणमा लिएको जनाएको छ।
घटनामा संलग्न अर्का एक जना व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका किशोरमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको छ भने घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र खोजी भइरहेको जनाएको छ।
