पाँच करोड ४० लाख ठगी आरोपमा ७० वर्षीय किरण वैद्य पक्राउ

समाचार

काठमाडौं,२ असोज  । ठगी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भई बस्दै आएका ७० वर्षीय किरण वैद्य रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–१, नक्सालबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार भक्तपुरको साविक ताथली गाविस–६ (हाल चाँगुनारायण नगरपालिका–२) स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गा हकबन्दी कायम भई बिक्री–वितरण गर्न नमिल्ने अवस्थाबारे जानकारी हुँदाहुँदै बिक्री गर्ने भन्दै बैना कागज गरिएको थियो।

उक्त जग्गा बिक्री गर्ने भन्दै बैना रकमबापत रु. ५ करोड ४० लाख ९६ हजार ९४० लिई ठगी गरेको आरोपमा वैद्यविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको थियो।

अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका वैद्यलाई प्रहरीले खोजी गर्ने क्रममा नक्सालबाट पक्राउ गरेको हो।

पक्राउ परेका वैद्यलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *