खानेपानीमन्त्री प्रदीप यादवको पहलमा मेलम्चीको पानी काठमाडौँ पठाइयो

समाचार

रसीद आलम,काठमाडौँ ,२२ असोज । मेलम्ची नदीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा आपूर्ति सुचारु भएको छ ।

मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने मेलम्ची सङ्घर्ष समितिसँग सोमबार भएको सहमति पश्चात् आज सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति सुचारु भएको हो ।

यससँगै आजदेखि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन् ।

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको थियो ।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दशैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *