जगाती चेकपोस्टबाट भन्सार छली सामानसहित ट्रक बरामद, ७२ लाख बराबरको कपडा र पार्टपुर्जा नियन्त्रणमा

समाचार

रसीद आलम

भक्तपुर,  वैशाख २९ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित जगाती चेकप्वाइन्टमा भन्सार छली गरी ल्याइएका कपडा र अन्य सामग्रीसहितको ट्रक पक्राउ गरिएको छ। वैशाख २८ गते बिहान करिब १०:३० बजे साँगाबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख ७६० नम्बरको सेतो रंगको टाटा ट्रकलाई प्रहरीले शंका लागि जाँच गर्दा उक्त ट्रकमा परालको भुस मुनि लुकाइछिपाई भन्सार छली गरेर ल्याइएका विभिन्न प्रकारका कपडा तथा धाराको पार्टपुर्जा फेला परेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरअन्तर्गत प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले ट्रकसहित करिब ७२ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको जानकारी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) ढुण्डीराज नेउपानेले दिएका छन्। बरामद गरिएका सामानहरूमा निम्न सामाग्रीहरू रहेका छन्:

१. कुर्ता सुरुवाल – ३८८७ थान
२. पाइन्टको कपडा – ३२ रोल
३. सर्ट – ३५६ पिस
४. सर्टको कपडा – २८० रोल
५. ब्लाउज – १८७५ पिस
६. पर्दाको कपडा – ९९ रोल
७. साडी – १५९ पिस
८. धाराको पार्टपुर्जा – ३९८ पिस

उक्त सामानसहित ट्रक नियन्त्रणमा लिई चालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–२ निवासी ४७ वर्षीय लक्ष्मण थामीलाई पक्राउ गरिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त समान पर्साको बिरगंजका एक कुख्यात तस्करको रहेको स्रोतले आशंका गरेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *